काठमाडौँ,२५ माघ ।
नेपाल सरकारले टर्कीमा गएको विनासकारी भूकम्पपीडितका लागि राहत र पुनर्स्थापनाका लागि मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सहयोग गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री दाहालले भने, ‘टर्की हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दु:खमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं ।’

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए । आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने बैठकले निर्णय गरेको छ ।

नेपाल सरकारले विनाशकारी भूकम्पबाट प्रभावित टर्कीलाई सहायता गर्न भूकम्प उद्धारका लागि आवश्यक हाडजोर्नी विशेषज्ञसहितका स्वास्थ्यकर्मीलाई पठाउन तयारी थालेको हो ।

परराष्ट्रमन्त्री विमला राई पौड्यालले बुधबार टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गरेकी छन् ।

टेलिफोन कुराकानीमा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएको मन्त्रीको सचिवालयले जनाएको छ । कुराकानीमा पररष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रसमेत गरिन् ।

नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तिका बेला नेपाल सरकारले सधैं आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गरिन् ।

टर्कीमा सोमबार बिहानै ७.८ रेक्टर स्केल म्याग्निच्युटको भूकम्प गएको थियो भने दिउँसो पुन: ७. ५ रेक्टर स्केल म्याग्निच्युटको पराकम्प गएको थियो । त्यसयता दर्जनौं पराकम्प गइरहेको बताइएको छ । भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ९ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।