काठमाण्डौ,२५ माघ ।
टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २० जना नेपाली सम्पर्कमा आएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका महासचिव विनोद पौडेलका अनुसार सम्पर्कमा आएकामध्ये १४ जना विद्यार्थी र बाँकी ६ जना त्यहाँ कार्यरत श्रमिक हुन् । सम्पर्कमा आएका २० जना सेल्टर हाउस र होटलमा रहेका छन् ।

सम्पर्कमा आएकाहरू सबैजना सुरक्षित स्थानमा रहेको र उनीहरुलाई खानाको व्यवस्था पनि त्यहींको नगरपालिका र रेडक्रस लगायतका संघसंस्थाहरुले गरिरहेकाे महासचिव पाैडेलकाे भनाइ छ ।

उनका अनुसार अहिलेसम्म भूकम्पमा कोही पनि नेपाली परकोबारेमा औपचारिक जानकारी आएको छैन । भूकम्पमा परी ज्यान गुमाएका र घाइते भएकाहरु कुन देशका नागरिक हुन् भनेर अहिलेसम्म टर्की सरकारले सार्वजनिक गरेको छैन ।

भूकम्प प्रभावित क्षेत्र टर्कीको राजधानी स्तानबुलबाट झण्डै १२ सय किलेमिटर टाढा पर्छ । यो समयमा त्यस क्षेत्रमा निकै चिसो हुने भएकाले होटल लगायतमा क्षेत्रमा नेपालीहरू कार्यरत भए पनि अहिले त्यहाँ बस्ने नगरेको एनआरएनए महासचिव पौडेलले बताए ।

प्रभावित क्षेत्रमा नेपालीहरूको संख्या ५० देखि ६० जनाको हाराहारीमा हुनसक्ने अनुमान छ ।

भूकम्प गएकै दिन गएको सोमबारदेखि एनआरएनए टर्कीले समन्वय गरी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको खोजी गरिरहेको छ । प्रभावित क्षेत्रमा रहेका नेपालीहरूलाई सम्पर्कमा आउन एनआरएनएले अनुरोध गरिरहेको छ । तर कतिपय इन्टरनेट र बिजुली बत्ती नहुँदा मोबाइल चार्ज नभएर पनि सम्पर्कमा नआएको हुन सक्ने उनको भनाई छ ।

सम्पर्कमा आएका कतिपय विद्यार्थीले आफूहरूको उद्धारका लागि अनुरोध गरिरहेका छन् । तर तत्कालका लागि बाटोहरू पनि भत्किएको र जहाजहरू पनि १० देखि १२ दिनसम्मका लागि ओभर बुक भइसकेकाले तत्काल त्यहाँबाट उद्धार गरी ल्याउन भने सम्भव छैन ।

तत्काललाई सम्पर्कमा आएकाहरूसँग नियमित सम्पर्कमा रहने र उनीहरूलाई परामर्श प्रदान गर्ने काम भइरहेको पनि उनले बताए ।

एनआरएनए टर्कीले त्यहाँको सरकारलाई हस्तान्तरण गर्ने गरी नेपाली समुदायहरुबीचमा आर्थिक संङकलनसमेत गरिरहेको छ भने त्यहाँ रहेका नेपालीहरुले रक्तदान पनि गरिरहेका छन् ।

टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका आफ्ना मानिस कोही भएको र फोन वा अनलाइन सम्पर्क नभएको भएमा एनआरएनए टर्कीलाई खबर गर्न पनि महासचिव पौडेलले अनुरोध गरेका छन् ।

नेपालमा रहेका परिवार वा टर्कीमै भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीले एनआरएनए टर्कीका महासचिव विनोद पौडेललाई ०५३७२७७१९६ नम्बरमा सम्पर्क गर्न सक्छन् ।

टर्की र सिरियाको सिमानामा सोमवार बिहान ७ दशमलव ८ र दिउँसो ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि कैयौँ परकम्पहरु पनि गइरहेका छन् । हालसम्म भुकम्पमा ज्यान घुमाउनेको संख्या ८ हजार ७ सय पुगेकाे बीबीसीले जनाएको छ ।