काठमाडौं,२४ माघ ।
अमेरिकी विकास सहयोग नियोग यूएसएआईडीका प्रमुख समान्था पावर नेपाल आइपुगेकी छन् ।

उनी दुई दिने भ्रमणका लागि आज (मंगलबार) बिहान काठमाडाैं आइपुगेका हुन् । पावरले आज प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम तय भएको यूएसएआईडीले जनाएको छ ।

पावरले यहाँको नागरिक समाज, सामुदायिक समूहहरू, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर लोकतान्त्र, समृद्धि र समावेशीका लागि भइरहेका प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने कार्यक्रम छ ।

साथै, यूएसएडले नेपालमा सञ्चालन गरिरहेका परियोजनाको प्रगति बारे पनि छलफल हुनेछ । अर्थमन्त्रालय स्रोतका अनुसार पावरले यूएसएडको एउटा परियोजना समेत उद्घाटन गर्ने कार्यक्रमको तयारी भएको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत रहेकी यूएसएड प्रमुख पावर अमेरिकाको क्याबिनेटस्तरीय उच्च अधिकारी हुन् ।

यूएसएड र अर्थ मन्त्रालयबीच गत २१ वैशाखमा पाँच वर्षभित्र खर्च गर्ने योजनासहित हस्ताक्षर भएको सम्झौताअनुसार प्राप्त हुने ८० अर्ब रुपैयाँको अनुदान सहायता परिचालनबारे कुराकानी हुनेछ ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आएकी हुन् ।