काठमाडौं,२४ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच साढे ९ बजेदेखि भएको वार्ता अहिले पनि जारी रहेको बताइएको छ ।
भेटमा सरकारका कामको समीक्षा, राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि मन्त्रिपरिषद् विस्तार गर्ने लगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि प्रचण्ड–ओली कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा विभिन्न चरणमा छलफल गरिरहेका छन् ।
यसअघि हिजो पनि उनिहरुबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । सिंहदरबारको छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पनि उपस्थिति थियो ।
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच अस्ति बिहान बालुवाटारमा छुट्टै भेटवार्ता भएको थियो ।






