काठमाडौं,२४ माघ ।
बंगलादेशको ढाकामा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।
खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।
दुवै टोलीका लागि फाइनलमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ । त्यसमा पनि नेपालका लागि त फाइनलमा स्थान बनाउन भारतलाई जित्नै पर्ने अवस्था छ ।
चार राष्ट्र सहभागी च्याम्पियनसिपमा भारत एक जित र एक बराबरीबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । उति नै अंक भएको घरेलु टोली बंगलादेश गोल अन्तरमा पछि रहेर दोस्रोमा छ ।
एक हार र एक जितबाट नेपालको तीन अंक छ र तेस्रो स्थानमा छ । पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले हराएको थियो ।
तुलनात्मक रुपमा भारत बलियो प्रतिद्वन्द्वी भएकोले नेपालका लागि फाइनल पुग्नु ठूलो चुनौती छ ।
नेपालसँग पराजित हुँदा भारत बाहिने अवस्था रहेकोले भारत नेपालसँग हार्न चाँहदैन ।
नेपालका प्रशिक्षक यामबहादुर गुरुङले भारत बलियो टिम भएको तर तयारी रामरो गरेको बताएका छन् ।
भारतीय टिमका प्रशिक्षक मायमोल रकीले नेपालको विरुद्धको खेल जित्नमा केन्द्रित हुने बताए ।
मायमोलले खेल जित्नका लागि गोल गर्नुपर्ने बताइन् र अट्याकिङ थर्डमा ध्यान दिन सक्ने जित्ने विश्वास व्यक्त गरेका छन् ।
लगातार दुई खेलमा हारेको भुटान भने अंकविहित छ र फाइनल होडबाट बाहिरिसकेको छ ।
घरेलु टोली बंगलादेशले अन्तिम खेल भुटानसँग खेल्ने भएकोले सहज अवस्थामा छ । बंगलादेश भुटानसँग बराबरी खेले पनि फाइनल पुग्नेछ ।





