काठमाण्डाै,२४ माघ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्वि गरेको छ । गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँका दरले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पुगेको छ ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको छ ।
निगमले विज्ञप्ति निकालेर इन्डियन आयल कर्पोरेसनबाट गएको १६ गते प्राप्त नयाँ खरिद मूल्ययसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ १० पैसा, डिजलमा ७ रुपैयाँ ९८ पैसा, मट्टितेलमा ४ रुपैयाँ ६१ पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ८० पैसा मूल्य बढेर आएकाले मूल्य बढाएको जनाएको छ ।
यो महिना नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई तिर्नुपर्ने बक्यौता १६ अर्ब ३० करोड रुपैयाँ रहेको निगमको दाबी छ ।






