लुम्बिनी, २३ माघ ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा रामकथा वाचन गर्न अनुमति दिएको बिरोधमा बौद्धमार्गीहरुले विरोध प्रदर्शन गरेका छन् ।

भारतका आध्यात्मिक धर्मगुरु मोरारी बापुबाट मंगलबारदेखि लुम्बिनीमा हुन लागेको ‘श्री रामकथा प्रवचन’ को बिरोधमा प्रदर्शन भएको हो ।
विश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनी परिसर भित्र गैर बौद्ध क्रियाकलाप हुन नहुने उनिहरुको माग छ ।

संयुक्त बौद्ध धर्मावलम्बी संघर्ष समिति रुपन्देहीको नामबाट भएको बिरोध प्रदर्शनपछि आयोजित कोण सभामा थारु बौद्ध समाजका केन्द्रीय उपाध्यक्ष रामकुमार थारु, नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दलबहादुर बिरकट्टा मगर, बौद्ध धर्मका अगुवा झम बहादुर गुरुङ,कपिलबस्तु बौद्ध बिहार संघका अध्यक्ष रामचन्द्र कोरी बौद्ध,नेपाल आदिबासी जनजाति महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष शंकर गाहा,मंगोल नेशनल अर्गनाइजेशनका लाल बहादुर थापा लगायतले आफुहरु कुनै धर्मको बिरोधी नभएर विश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनी परिसर भित्र हिन्दु धर्मको प्रवचन गर्न नहुने बताए ।
उता हिन्दु धर्मावलम्बीहरुले भने बिरोध प्रदर्शनको बिरोधमा नाराबाजि गरेका थिए ।
दोहोरो प्रदर्शनका कारण लुम्बिनीको पर्सा चौराह सोमबार दिनभर तनाबग्रस्त भएको थियो ।
दुई समुहको प्रदर्शनका कारण दोहोरो झडप हुन नदिन लुम्बिनीमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
‘श्री रामकथा प्रवचन’ का लागि भारतका धर्मगुरु मोरारी बापु आज अपरान्ह लुम्बिनी आइपुगेका छन् ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथाका लागि हल प्रयोग गर्न अनुमति दिइएको बताए ।
लुम्बिनिको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने प्रवचनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजार बढी श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए ।
कार्यक्रममा आधा बढी पहिलो पटक लुम्बिनी प्रवचन सुन्नका लागि आउने आयोजकको दाबी छ ।






