बागलुङ,१८ माघ ।
बागलुङमा आज दिउँसो एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाका ५० वर्षीय शेरबहादुर जिसीले शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।
राजधानीको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको घटना सेलाउन नपाँउदै अर्को त्यस्तै खालको घटना घटेको हो ।
घरमा कोही नभएको बेला पेट्रोल छर्केर शरीरमा आगो लगाएका उनलाई छिमेकीले जोगाएका थिए । तत्काल उपचारका लागि धौलागिरी अस्पताल लगिएका जिसीलाई पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाबहादुर थापाका अनुसार उनको अवस्था मध्यम छ । उनको अनुहारलगायत शरीरका विभिन्न अंग जलेको छ । होश खुलिसकेका जिसीले आफूलाई बाँच्न मन नलागेर आत्मदाहको कोशिस गरेको बताएको डिएसपी थापाको भनाइ छ ।
यस विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय वित्तीय संस्थाको तनाव सहन नसकेर व्यवसायीहरुले धमाधम आत्मदाहको प्रयास गरिरहेका छन् ।






