काठमाडौँ,१५ माघ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेन्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् ।

पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्नुस् भन्दै मन्त्री किराँतीले लुम्बिनी मागीखाने भाँडोको रुपमा नलिन कोषका पदाधिकारी तथा कर्मचारीहरुलाई चेतावनी दिए ।

लुम्बिनी विकास कोषले आइतवार मन्त्रालयमा आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीहरुको स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेन्डरअनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिएका हुन् ।

विश्वले फोटोकपी गर्न नसक्ने लुम्बिनीलाई बदनाम गरिएको भन्दै विकास कोषका पधाधिकारीसँग मन्त्री किरातीले प्रश्न गरे । राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासको लागि पठाएको मान्छेहरुले आफ्नो भूमिकालाई बिर्सेर घिन लाग्दो काममा लिप्त नहुन निर्देशन दिए ।

पवित्र र धार्मिक पर्यटकीय क्षेत्र आज गाईको गोबर र फोहोरले लुम्बिनी भरिएको गुनासो रहेको पनि मन्त्रीले बताए । कोषलाई मागी खाने भाँडो मात्रै बनाइएको भन्दै उनले अव त्यसरी नहुने बताए ।

गौतम बुद्धको जन्मथलो लुम्बिनी मागीखाने भाँडो नभएर बौद्ध धर्मलम्बीहरूको नाभी तथा ढुकढुकी भएको बताउदै मन्त्री किराँतीले पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न कर्मचारीलाई आग्रह गरे । नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको उनको भनाइ छ ।

कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजनाभन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गरे । उनले गुरुयोजनाभन्दाबाहिरका संरचना बनाउनुपर्ने बाध्यता भए पनि कतिपय बनाउनुनपर्ने संरचना बनाइएको बताए ।

लुम्बिनी क्षेत्रभित्रका विभन्न जग्गा अन्तर्राष्ट्रिय धार्मिक संस्थाहरूलाई बाँडफाँट भएकाले समस्या भएको उनको भनाइ छ ।