पोखरा,२३ पुस ।
२२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा फुटबल क्लबले हातपारेको छ । शनिबार पोखरा रंगशालामा भएको रोमाञ्चक फाइनल खेलमा संकटाले भुटनीज युथमाथि ३–२ गोल अन्तरले जित निकालेको हो । खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएको थियो । अतिरक्त समयमा संकटाले बाजी मारेको हो ।

खेलको सुरुवातमै २–० गोलको अग्रता बनाएको संकटाले पहिलो हाफमै उक्त अग्रता जोगाउन सकेन । खेलको ८ औँ मिनेटमा सुरज ज्यु ठकुरीले संकटालाई अग्रता दिलाएका थिए । सुरजले निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पूजन थापा मगरले बचाए पनि रिबाउन्डमा गोल गरेका हुन् । यस्तै खेलको ३५औँ मिनेटमा मेसुके ओलोमोउले संकटाको अग्रता दोब्बर बनाए । मेसुकेले सुनिल बलको कर्नरलाई गोलमा परिणत गरेका हुन् ।

२–० गोलले पछि परेको खेलमा ३७ औँ मिनेटमा भुटनिज युथका रिनी सान्तिलोनले गोल गरेपछि खेल २–१ गोलको स्थितमा आएको थियो । यस्तै इन्जुरी समयमा विल ग्रिफिथले भुटनिज युथलाई २–२ को बराबरीमा ल्याए । उनले धिरज थजालीको फ्रिकिकमा बनेको मुभमा गोल गरेका हुन् ।

त्यसपछि दोस्रो हाफमा कुनै टोलीबाट थप गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा धकेलिएको खेलमा ११७ औँ मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै संकटालाई ३–२ को रोमाञ्चक जित दिलाए । सुनिलले मेसुके ओलोमोउको पासलाई गोलमा परिणत गरेका थिए ।

उक्त जितसँगै संकटाले दोस्रो पटक आहा राराको उपाधि हातपारेको हो । यसअघि संकटाले २०७७ सालमा सो उपाधि जितेको थियो ।