बुटवल,१६ मंसिर । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले देशमा नागरिक नै नरहेको टिप्पणी गरेका छन् । नागरिक नभएर जनता मात्रै हुँदा देशमा विकास हुन नसकेको उनको भनाई छ ।
रोटरी क्लव अफ बुटवलको ३० औं स्थापना दिवस समारोहमा बोल्दै उनले जनतालाई नागरिक बनाउन नागरिक शिक्षा अपरिहार्य भएको बताए । युवा भनेको जाँगर र जोशको खम्बा तथा भविष्यको आशा र विश्वास भएकाले युवालाई राजनीतिक दलको कार्यकर्ता मात्रै नभई नागरिक बनाउन आवश्यक रहेको शाक्यको भनाई छ ।

संस्कृतिविद समेत रहेका शाक्यले राजनीतिले धेरै क्षेत्र तहसनहस भएको भन्दै राजनीति नघुसेकै कारण रोटरी जस्तो पवित्र संस्था यहाँसम्म आइपुगेको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा लगानी गरिरहेको बताए । बेलबास र मोतीपुरमा १६ बेडमा दुई अस्पताल निर्माणका लागि टेण्डर भएको र सुरक्षित मातृत्व, जेष्ठ नागरिकको सम्मान जस्ता कार्यमा नगरपालिकाले काम गरिहेको बताउँदै उनले भौतिक विकास सँगसँगै मानवीय विकास पनि जरुरी रहेको बताए ।

क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक सदस्य ज्ञानेन्द्र कसजू, एजी दिनेश पौडेल, प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठ, क्लवका सचिव लालहरि पाण्डे, रोटरी क्लव अफ बुटवल डाउनटाउनका अध्यक्ष भरत रानालगायतले रोटरी विशुद्ध सामाजिक संस्था भएकाले यसको गरिमालाई सबैले बाचय राख्नुपर्नेमा जोड दिएका थिए ।
त्यस अवसरमा विभिन्न अक्षयकोषबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै पत्रकार ललित पाण्डेलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।