स्याङ्जा,१२ असार ।
स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

ताप्केबाट वालिङ तर्फ आउँदै गरेको बीएए ७९०५ नम्बरको जिप शुक्रबार बिहान चालकले नियन्त्रण गुमाउँदा सडक छेउमा पल्टिएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । जिपमा चालकसहित १८ जना सवार थिए ।

दुर्घटनामा परी घाइते भएका वालिङ नगरपालिका–७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा वालिङ–७ की ४६ वर्षीया रूपकला सारू, रुपन्देहीको गैडहवा–४ की ५५ वर्षीया सुमित्रा गुरुङ र नवलपरासी (पूर्व) कावासोती नगरपालिका–५ की ४१ वर्षीया मायादेवी सुनारी गम्भीर घाइते भएका छन् ।

यस्तै, मायादेवी सुनारीकी १२ वर्षीया छोरी कर्मिसा सुनारी, वालिङ–७ की जैकला सारू, पोखरा महानगरपालिका–९ की रुक्सना थापा, रूपन्देहीको देवदह नगरपालिका–५ की कमला थापा, स्याङ्जाको विरुवा गाउँपालिका–६ का टोपबहादुर थापा, वालिङ–७ की गौमाया सारू, बेलबहादुर आले, कुमार सारू र ज्ञानुमाया सारू घाइते भएका छन् । उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा अन्य पाँच जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेमध्ये २८ वर्षीय चालक मिनबहादुर सारू पनि रहेका छन् । उनलाई सामान्य चोट लागेको र हाल प्रहरीको नियन्त्रणमा राखिएको छ ।

दुर्घटनापछि सबै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुर्‍याइएको थियो । त्यसमध्ये गम्भीर र मध्यम अवस्थाका १२ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।