स्याङजा,९ मंसिर ।
मतगणनाको विषयलाई लिएर स्याङजाको वालिङमा प्रहरी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

स्याङजा-२ मा मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना नभएको भन्दै बिराेध प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
मतगणना छिटो सुरु गर्न माग गर्दै आएको कांग्रेसले अहिलेसम्म पनि निर्वाचन आयोगले कुनै निर्णय नगरेको भन्दै शुक्रबार बिहान ११ बजेदेखि वालिङ बजारमा प्रदर्शन गर्ने तयारी गरेको थियो ।

कांग्रेसका कार्यकर्ताहरु वालिङ बजारतर्फ अगाडी बढेपछि पुनःमतदानको माग राखेर धर्नामा बसिररहेका एमाले कार्यकर्ता बीच झडप हुनसक्ने भन्दै प्रहरीले बीचमा नै रोक्न खोाजेपछि कांग्रेस कार्यकर्ता र प्रहरीबीच केहीबेर दोहोरो हानाहान भएको हो । प्रहरीले दुबै दलका कार्यकर्ताबीच झडप हुने अवस्था आएकाले कांग्रेसको जुलुसलाई रोकिएको जनाएको छ ।

अहिले पनि स्याङजाको वालिङ बजार तनावग्रस्त छ । मंसिर ४ गते मतदान सकिएपनि अझैसम्म दलीय सहमति नजुटेकाले मतगणना सुरु भएको छैन् । निर्वाचन आयोगले सहसचिवको नेतृत्वमा तीन सदस्यीय टोली स्याङजा पठाएको जनाएको छ । आज शुक्रबार उक्त टोली स्याङजा पुगेर छलफल गरेपछि मात्रै मतगणना सुरु गर्ने वा विवाद भएका क्षेत्रमा पुनः निर्वााचन गराउने भन्ने निर्णय हुने जनाइएको छ ।

निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै स्याङजा–२ को मतगणना सुरु हुने भएपछि अहिले दुबै पक्षका कार्यकर्ता धर्नामा बसेका छन् । एक पक्ष मतगणना गर्नुपर्ने र अर्को पक्ष पुनःमतदान गर्नुपर्ने अडानमा छ ।

तत्काल मतगणना सुरु गर्नुपर्ने माग राख्दै स्याङजा–२ मा नेपाली काग्रेसले धर्ना दिँदै आएको छ । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज गुरुङसमेत चाँडो मतगणनाको माग गर्दै धर्नामा बसेका छन् । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुटेको छैन् ।

दलहरु आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो ।
नेकपा एमालेले पुनः मतदानको माग गर्दै दवाव दिइरहेको छ । सर्वदलीय बैठकमा सहमति नजुटेपछि स्याङजा–२ को परिस्थितिबारे निर्वाचन आयोगमा लेखेर पठाएको अधिकृत शर्माले जानकारी दिए ।
नेपाली कांग्रेसले स्याङ्जाको चापाकोट नगरपालिका–३, ४ र ५ का चारवटा मतदान केन्द्रमा बुथ कब्जा गरी धाँधली गरेको आरोप एमालेले लगाउँदै ती ठाउँमा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । कांग्रेस भने प्रक्रिया पूरा भएर निर्वाचन कार्यालयमा सुरक्षित आएको जनताको अभिमतलाई सम्मान गर्दै तत्काल मतगणना गरेर निकास निकाल्नुपर्ने अडानमा छ ।

दुवै पक्षले निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएपछि सम्भावित घटनालाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।