मुस्ताङ,५ मंसिर ।
मुस्ताङमा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फका सबै ठाउँमा कांग्रेस विजयी भएको छ ।

मुस्ताङमा एमालेका निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभामा निर्वाचित २९ वर्षीय गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका ६० वर्षीय तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए ।
मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् ।

उनले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमात्रै पाए । विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए ।
उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् ।

मुस्ताङको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका छन् ।
शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गरेका हुन् ।

दुई हजार सात सय ३० मतसहित शेरचन विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको चुनावमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य भएका थिए ।
एमालेले मुस्ताङलाई आफ्नो पकड भन्दै अनिवार्य जितको क्षेत्रमा राखेको थियो ।

मुस्ताङको कूल जनसंख्या ११ हजार ५९३ रहेको छ । यस जिल्लामा कूल मतदाता १० हजार ९५७ रहेका छन् । मंसिर ४ गते आइतबार भएको निर्वाचनमा मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।