बुटवल,३० कार्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले विपक्षी गठवन्धन दलका नेताले अरुले गरेका विकास निर्माणका योजनालाई आफुले गरेको भनि झुठो प्रचार गरेको बताएका छन् ।

रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलप्रति र्इंगित गर्दै खाँणले भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल लगायतका संरचनासँगै फोटो खिचेर पौडेलले आफुले गरेको भनि झुटो प्रचार गरेको बताए ।

जुन आयोजनाको प्रस्ताव गर्नेदेखि शिलान्यास र उद्घाटनसम्म जसको कुनै किसिमको संलग्नता छैन उसैले आफुले गरेको भनेर जनतामा भ्रम छर्ने काम गरेको भन्दै खाँणले भ्रममा नपर्न जनतालाई आग्रह गरे ।

२०४८ सालमा नेपाली कांग्रेसद्धारा रुपन्देहीमा आयोजित आमसभामा आफु समेतका कांग्रेस नेताहरुले भैरहवामा विमानस्थल बनाउन तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला समक्ष माग गरेको र सोही कार्यक्रममा प्रधानमन्त्री कोइरालाले विमानस्थल बनाउने आश्वाशन दिएको स्मरण गराए ।
शुशिल कोइराला प्रधानमन्त्री भएको बेला शिलान्यास भएको बिमानस्थल प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको ताजै रहेको अवस्थामा कसैले आफुले गरेको भनि झुटो प्रचार गर्नु गलत भएको उनको भनाई थियो ।

गठवन्धनले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खाँणले झुटो प्रचारबाट प्रभावित नहुन सकेत जनतालाई आग्रह गरे ।
एमालेप्रति व्यंग गर्दै ’हाम्लाई जिताउनुस् बुटवलमा राजधानी बनाउछौं’ भन्ने नेताहरूले जितेर बुटवल होइन राजधानी अन्तै लगेको नबिर्सन आग्रह गरे । आफ्नो क्षेत्रको राजधानी अन्यत्र बुझाउने नेताहरू नै पुन चुनावी मैदानमा आउनु अस्वभाविक भएको उनको भनाइ थियो ।

गृहमन्त्री खाँणले देशको मध्यभागमा रहेको रुपन्देही विकासको ठूलो सम्भावनाको बोकेको जिल्ला भएको भन्दै विकासको आधार खडा गर्न दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताए । बुद्धजन्मस्थल लुम्बिनीको महत्व विश्वभर बढाउन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल बनाएको भन्दै यसलाई पूर्णरुपमा संचालन गर्ने योजना बनाएको बताए ।

विकासलाई रुपन्देही केन्द्रित गरेको भन्दै यहाँको विकास देशकै विकासको आधार रहेको पनि उनको भनाइ थियो । ‘पाँच दलीय गठबन्धनले जे बोल्छ उही गर्छ । हामीले छलछाम गर्दैनौं । प्रतिपक्षीले दिग्भ्रमीत सन्देश प्रवाह गरेकोले त्यसलाई विश्वास नगर्नुस्,’ उनले भने ।