पोखरा,२९ कार्तिक ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्त भएका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारीसहित प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको सूचनामा भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने उल्लेख छ ।

कास्की–२ को प्रदेश सभा २ मा टिकटको आकांक्षी रहेका खड्काले टिकट नपाएपछि असन्तुष्ट थिए ।

सो क्षेत्रमा कांग्रेसबाट कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापा उम्मेदवार रहेका छन् । खड्काले थापालाई हराउन लागेको आरोप लागेको छ ।