बुटवल,२८ कार्तिक ।
पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार केशव बहादुर थापा सुर्यबंशीले आफु विजयी बनेर संसदमा पुगेको दिन भ्रष्टाचार विरुद्धको संकल्प प्रस्ताव दर्ता गर्ने बताएका छन् ।
मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम नगरी दिगो शान्ति र समृद्धि सम्भव नहुने बताउदै उनलेे यसअघि जितेर जाने नेताहरू भ्रष्टाचारमा लिप्त भएकै कारण मुलुक अधोगति तर्फ उन्मुख गएको दाबी गरे ।
उनलेे भने-‘मैले जितेर संसद् भवन पुगे भने मेरो पहिलो कदम पहिलो दिनमै भ्रष्टाचार विरुद्धको संकल्प प्रस्ताव दर्ता गर्नेछु र चुनाव जितेर संसदमा पुग्नेहरूले भ्रष्टाचार विरुद्धको कसम खाएर मात्र बैठकमा बस्ने व्यवस्था मिलाउन प्रयास गर्ने छु ।´उनलेे आफ्नो दोस्रो प्रयास बेरोजगारीको अन्त्यका लागि हुने र तेस्रो कदम कृषि क्रान्तिका लागि पनि संकल्प प्रस्ताव दर्ता गर्ने रहेको उल्लेख गरे । कृषि क्षेत्रको प्रभावकारी विकास बिना सबल अर्थतन्त्रको विकास नहुने उम्मेदवार सुर्यबंशीको भनाइ छ ।
रुपन्देही २ बाट प्रतिनिधि सभामा उम्मेदवार सुर्यबंशीले बुटवल १२ तामनगरमा घरदैलो कार्यक्रमपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै मुलुकलाई औद्योगिक क्रान्तिमार्फत आर्थिक विकास गरी बेराजगारीको अन्त्य गरेर मात्र दिगो विकास र समृद्धि सम्भव भएको बताए । देशको युवा शक्ति पलायन भइरहेको बारे यसअघि सत्तामा बस्नेहरूले यसलाई रोक्न कुनै प्रयास नगरेको भन्दै सुर्यबंशीले श्रम शक्ति बेचेर कुनै पनि देश धनी नहुने ठोकुवा समेत गरे ।
रुपन्देही २ ख का प्रदेश सभा सदस्य पदका उम्मेदवार बामदेव क्षेत्री घिमिरेले उत्पादकत्व वृद्धि गरी आर्थिक विकास र कृषि क्रान्तिबाट नै समृद्धिको मार्ग दिशा तय गर्न सकिने बताए । उद्योग र पर्यटनको विकासबाट नै लुम्बिनी प्रदेश समृद्धिको दिशातर्फ अग्रसर हुने कुरामा जोड दिँदै प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका क्षेत्रीले दीर्घकालीन सोचसहित गरिबी निवारण र बेरोजगारीको अन्त्य गर्ने कार्यक्रम ल्याउनु पर्नेमा जाेड दिए ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर–२ क बाट प्रदेशसभामा सत्ता गठबन्धनकारतर्फबाट नेपाली काँग्रेसका दिर्घबहादुर केसीले निर्वाचनमा खेलकुद र खेलकुदमा आबद्ध युवाहरूको मुद्दालाई प्रमुख मुद्दा बनाएर होमिएका छन् । उनको उम्मेदवारीले यस क्षेत्रमा मात्र होइन नेपालमै खेलकुदको मुद्दा सतहमा आएको छ । जीवनको सबैभन्दा ऊर्जाशील समय फुटबल र यस क्षेत्रको खेलकुदमा खर्चिएका केसीले अहिले एन्फाको उपाध्यक्ष जस्तो उच्च पदमा निर्वाचित भएर काम गर्दै आएका छन् ।






