मुलुक श्रीलंका जस्तो हुने स्थितीमा छैन
बुटवल,२६ कार्तिक ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपालले राष्ट्र बैंक सानो कुरामा चुक्दा मुलुकको आर्थिक अवस्था विग्रिन सुरु भएको बताएका छन् ।
कोभिड–१९ को प्रकोप सकिएपछि पनि कोभिड लक्षित न्यून व्याजदरका कर्जाहरुलाई निरन्तरता दिँदा त्यहीबाट मुलुकको आर्थिक अवस्था बिग्रिन सुरु भएको उनको भनाई थियोे ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ‘नेपालको वर्तमान बैंकिङ समस्या र समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र सुधार गर्न आयात घटाउने तर्फ लाग्नु पर्नेमा जोड दिए ।
२०७६ को अन्त्यमा कोभिड–१९ सुरु भएपछि आम नागरिकको आर्थिक कृयाकलाप बढोस् भनेर नेपाल राष्ट्र बैंकले १ देखि ५ प्रतिशत सम्मका १० प्रकारका कर्जा पोलिसी ल्याएको थियो । ‘कोभिड सकियो तर कर्जा पोलिसी हटेन ।’ उनले भने–‘१९ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने भन्ने पोलिसीमै थियो, तर ३४ प्रतिशत कर्जा प्रवाह भएको छ ।’
उनले अहिले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत बढीको योगदान गर्ने उद्योगी व्यवसायी सडकमा आउँदा सम्बन्धित पक्ष संवेदनशील हुनु पर्ने बताए । यहाँको आर्थिक स्थिती बिग्रिदा त्यसको असर अरु देशमा पनि पर्ने बताउँदै उनले यसलाई सुधार गर्ने तर्फ सबै लाग्नुपर्ने आवस्यकता औल्याए ।
धेरैले मुलुक श्रीलंका जस्तो हुन्छ की भन्ने चासो र चिन्ता व्यक्त गरिरहेको बताउँदै पूर्व गभर्नर नेपालले मुलुक श्रीलंका जस्तो हुने स्थितीमा नरहेको प्रट्याए ।
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बैंकको व्याज १५÷१६ प्रतिशत पुग्दा उद्योगी व्यवसायीहरु व्याज तिर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले बैंकको व्याजलाई एकल अंकमा कायम गर्नुपर्नेमा जोड दिए ।
राष्ट्र बैंकले ल्याएको चालु पँजी कर्जा सम्बन्धी नयाँ नियमले पनि उद्योगी व्यवसायी समस्यामा पर्ने बताउँदै अध्यक्ष कसजूले यो नियम तत्काल नयाँ कर्जामा र पुरानालाई विस्तारै समय दिएर लगाउनु पर्ने धारणा राखे । सरकारले भि.डि.आई.एस. स्रोत नखुलेको पैसाको स्वघोषणा गर्न दिने हो भने पनि केही समस्या हल हुन्थ्यो की भन्ने उनको भनाई थियो ।
त्यस अवसरमा नेपाल बैंकर्स एशोसियसनका लुम्बिनी प्रदेश कार्यवाहक संयोजक नविन विष्टले पनि अहिलेको आर्थिक क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण अत्यधिक आयात नै भएको बताए । उनले आर्थिक क्षेत्रमा समस्या र समाधान दुबै रहेको बताउँदै समस्या समाधानको लागि आयात घटाउने तिर लाग्नुपर्नेमा जोड दिए । उनले भने–‘ईकोनोमीमा खेल्नुपर्ने पैसा उपभोग्य बस्तुको आयात गर्दा पलायन भईरहेको छ, समाधानको लागि आयात घटाउने तिर लाग्नु पर्छ ।’
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव विमलराज भट्टराई लगायतले मलुकको अर्थतन्त्रमा आएको समस्याले उद्योगि ब्यवसायीहरु ठूलो मारमा परेको बताउँदै समस्या समाधानको लागि राष्ट्र बैंकले भूमिका निर्वाह गर्न आग्रह गरे ।






