काठमाण्ठौ,२६ कार्तिक ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको छ ।
डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । त्यस प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको उनले बताइन् ।
समितिले अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्बरभित्रै व्यावसायिक उडान सञ्चालनको योजनाअनुरुप सरोकारवालासँग परामर्श भइरहेको प्रवक्ता खड्काको भनाई छ ।
अहिले गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एअरलाइन्सले हप्तामा तीनवटा उडान गरिरहेको छ । नेपाल एअरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एअरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज रहेका छन् ।
गौतमबुद्ध विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको साढे पाँच महिनापछि गएको कार्तिक १७ देखि हिमालय एअरलाइन्सले मलेसियाको क्वालालम्पुरका लागि नियमित चार्टर्ड उडान गर्दै आएको छ । हाल हिमालय एअरलाइन्सले दैनिक एक चार्टर्ड उडान गरिरहेको छ ।
नागरिक उड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने व्यवस्था गरेको थियो । जसका कारण हिमालय एअरलाइन्सले चार्टर्ड उडान सुरु गरेको छ भने नेपाल एअरलाइन्सले पनि थप उडानका लागि भैरहवा विमानस्थलबाट उडान गर्न लागेको हो ।
नेपाल एअरलाइन्सले भैरहवाबाट छिट्टै अन्तर्राष्ट्रिय उडान गर्ने गरी छलफलमा रहेको प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा स्वदेशी कम्पनीले कम्तीमा पनि एउटा अन्तर्राष्ट्रिय उडान गर्दै अन्तर्राष्ट्रिय एअरलाइन्सलाई आकर्षित गर्न नियामक निकायले बाध्यकारी व्यवस्था गरेको थियो । प्राधिकरणले नेपालका दुई नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्ससहित पाँच अन्तर्राष्ट्रिय एअरलाइन्सलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न लिखितरुपमा आग्रह गरिसकेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुलाई प्राधिकरणले आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णयसमेत गरेको छ । यो विमानस्थलबाट नोभेम्बर १२ तारिखदेखि कुवेत एअरले पनि उडान सुरु गर्ने प्राधिकरणले जनाएको छ । यस्तै थाइल्याण्डलगायतका देशका वायुसेवा कम्पनीबाट समेत उडान भर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।
२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरी निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको थियो ।
विमानस्थलले अहिले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई नेपाल नागरिक उड्ययन प्राधिकरणले अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्यन शुल्क, सुरक्षा शुल्कमा एक वर्षका लागि शतप्रतिशत छुट दिएको छ । यस्तै नेपाल वायुसेवा निगमले असुल गर्ने ग्राउण्ड ह्याण्डलिङ सेवामा एक वर्षका लागि ५० प्रतिशत छुट प्रदान गरिएको विमानस्थले जनाएको छ ।






