बुटवल,२२ कार्तिक ।
भैरहवा भन्सार कार्यालय कपिलवस्तु जिल्लाबाट २ करोड बढीको भन्सार छलेका समान बरामद गरेको छ ।
भन्सार विभागसँगको समन्वयमा आफ्नो कार्यक्षेत्रभन्दा बाहिर भन्सार छली गरेको समान बरामद गरी भैरहवा भन्सार कार्यालय ल्याइएको भन्सार कार्यालयले जनाएको छ ।
गोप्य सूचनाको आधारमा मंगलबार बिहान ४ बजे कपिलवस्तुको चाकरचौराह मायादेवी ८ पकुर्ल भन्ने स्थानबाट पाँचवटा पिकअपबाट तस्करी हुँदै गरेको अवस्थामा अवैध सामान बरामद गरिएको प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिए ।
सूचनालाई पछ्याएर कार्यक्षेत्रभन्दा बाहिर पुग्नुपर्ने अवस्थामा भन्सार विभागसँग समन्वय गरेर अवैध सामान बरामद गरेको उनले बताए । बरामद गरिएका सामानहरूमा लत्ताकपडा, जुता चप्पल , खैनी सुर्ती, खेलौना, अबिर, अन्य प्याकिङहरू रहेको भन्सार कार्यालयले जनाएको छ ।






