बुटवल,२१ कार्तिक ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुने गरी योजनाका काम गर्न निर्देशन दिएका छन् ।
सोमबार आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक र २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले माघ मसान्तसम्म योजना सम्झौताको काम पूरा गर्न निर्देशन दिएका हुन् ।
उनले महाशाखा र शाखाहरुलाई योजनाका कामलाई छिटो भन्दा छिटो प्रक्रियामा अघि बढाउन र सेवाग्राहीका कामलाई तीब्र गतिमा गर्नका लागि निर्देशन दिए ।
नगरका हरेक काममा आर्थिक अनुशासन र पारदर्शिता अपनाउन तथा सेवाग्राहीमैत्री वातावरण बनाउन समेत उनले कर्मचारीहरुलाई निर्देशन दिए ।
‘बुटवललाई कसरी अरु नगरहरुभन्दा सफल र सम्पन्न बनाउने भन्ने कुरामा सबै जनप्रतिनिधि र कर्मचारीहरुले उत्तिकै चासो र जिम्मेवारी वहन गर्नुपर्छ, उहाँले भन्नुभयो–आवश्यक प¥यो भने दैनिक १८ घण्टा काम गरेर भएपनि जनताका काम सहज र समयमै गर्ने गरी मैले त्यसको नेतृत्व गर्छु तपाइँहरु सँगसँगै आउनुहोस् ।’
प्रमुख पाण्डेयले हरेक वडालाई देशकै नमूनायोग्य र प्रभावकारी काम गर्नका लागि आग्रह गर्नुभयो । ‘एउटा वडाले पाँच वर्षमा कम्तीमा एउटा यस्तो काम गर्नुस् जसले देशमै नमूना होस्, कैयौं वर्षसम्म बुटवलबासीले त्यसबाट लाभ लिने अवस्था सिर्जना गर्नुहोस्, उनले भने–त्यसका लागि सकिन्छ हाम्रै बजेटले काम गरौं, सकिदैन संघ, प्रदेश वा अरु दातृ निकायको सहयोगमा गरौं, मैले कहाँनेर अगुवाई गर्नुपर्छ म तयार छु ।’
उनले बुटवलका १९ वटै वडाको समान विकास र समान हिसाबको मानवीय विकासको लागि काम गर्न वडाध्यक्षहरुलाई आग्रह गरे ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकास अन्य क्षेत्रलाई समेत सिक्नलायक हुनुपर्ने बताइन् । उनले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यले मात्रै बुटवल समृद्ध बन्नसक्ने बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वार्षिक योजना सम्पन्न गर्ने गरी काम अघि बढाउन महाशाखा प्रमुखहरुलाई निर्देशन दिए । राजस्व संकलन र योजना कार्यान्वयनको पाटोलाई उत्तिकै चासोका साथ अघि बढाइने बताउँदै उनले बुटवलले सबै योजना समयमै सम्पन्न गर्ने गरी अघि बढेको बताए ।
कार्यक्रममा महाशाखा प्रमुखहरु मित्रमणि खनाल, तुल्सा अर्याल, विष्णुप्रसाद खनाल, भुवा प्रसाद लुईटेल, शाखा प्रमुखहरु गौतम रौनियार, युवराज पाण्डे, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले आफ्नो प्रस्तुति तथा समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।






