बुटवल,२० कार्तिक ।
रूपन्देहीको ड्राइभरटोल स्थित सितारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मातृका ज्ञवालीको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका सहकारी विभाग प्रमुख कृष्णप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न कार्यक्रममा वक्ताहरूले शेयर सदस्यहरू क्षमता अभिवृद्धि गर्दै संस्थालाई अझ अब्बल बनाउनुपर्ने बताएका थिए ।

पिताम्बर खनालको सञ्चालनमा भएको साधारण सभामा संस्थापक अध्यक्ष रामबहादुर खड्का, नवजीवन सहकारीका अध्यक्ष नारायणप्रसाद पाठक, संस्थाका उपाध्यक्ष रमेशकुमार पराजुली,संस्थाका सल्लाहकार गणेश पन्थी, कानूनी सल्लाहकार केशवराज पोखरेल, शेयर सदस्य विन्दु थापा लगायतले आ आफ्नो भनाई राखेका थिए ।

साधारण सभाले मातृका ज्ञवालीको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष पिताम्बर खनालको गत आर्थिक वर्ष (२०७८÷०७९) का, प्रतिवेदन तथा लेखा समितिका संयोजक कृष्णप्रसाद आचार्यले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित भएको सहकारीले जनाएको छ ।

सो अवसरमा शेयर सदस्य ज्येष्ठ नागरिक ताराबहादुर खत्री, असल ऋणी माया कार्की, पूर्व कर्मचारी मञ्जु आचार्य ज्ञवालीलाई सम्मान गरिएको थियो । त्यसैगरी शेयर सदस्यका परिवारतर्फ दश जोड दुई तहमा उत्कृष्ट हुने छात्रा शर्मिला ज्ञवाली र छात्र दिनेश भट्टराईलाई सम्मान गरिएको थियो ।