बुटवल,१९ कार्तिक ।
यस क्षेत्रका राजनीतिक दल तथा सरोकारवालाहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।
संवाद समूह लुम्बिनीद्धारा शनिबार बुटवलमा आयोजित ‘आशन्न निर्वाचनमा जारी आचारसंहिता कार्यान्वयनमा दलहरुको प्रतिवद्धता’ बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रममा राजनीतिक दल तथा सरोकारवालाहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब टोप अस्लामी,नेकपा माओवादी केन्द्रका नेता निर्दोश अली,नेपाली कांग्रेसका प्रदेश सदस्य विष्णु पोखरेल,नेकपा एमालेका नन्दीकेशर ढकाल,जनता समाजवादीका नेता मनिकर कार्की नेकपा एकिकृत समाजवादीकी सरीता श्रीस,राष्ट्रिय जनमोर्चाका टान बहादुर केसी,राप्रपाका प्रदिप उदयले आ आफ्नो दलले आशन्न निर्वाचनका लागि निर्वाचन आयोगद्धारा जारी आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाए ।
उनिहरुले आचारसंहिता पालना गराउने क्रममा निर्वाचन आयोग र मातहतका कार्यालयहरुले सबै दलहरुलाई समान रुपमा हेर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकृत टेकराज पन्थीले बिगतको तुलनामा आचारसंहिता अहिले धेरै पालना भएको भन्दै आचारसंहिता पालना गराउने बिषयमा सम्बन्धित निकायकासाथै नागरिक समाज पनि लाग्नुपर्ने बताए ।
संवाद समूह लुम्बिनीका सहजकर्ता बिक्रम खड्काको सहजिकरणमा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला,कानून तथा संचार मन्त्रालयका प्रतिनिधि माधव शर्मा,राष्ट्रिय मानव अधिकार आयोग बुटवलका अधिकृत दीपक ठाकुर,इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठग बहादुर केसी,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,अधिवक्ता महेन्द्र प्रसाद पाण्डे,मानवअधिकारकर्मी रीमा बिसी लगायतले आ आफ्नो भनाई राखेका थिए ।








