काठमाडौँ,४ बैशाख ।
यूएईविरूद्धको दुई खेलको टी–२० सिरिजका लागि नेपालले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोली घोषणा गरेको छ । दीपेन्द्र नेतृत्वको टोलीमा रोहित पौडेल छैनन् ।

टोलीमा केही नयाँले मौका पाउँदा केहीले पुनरागमन गरेका छन् । कुशल मल्लले पुनरागमन गरेका छन् भने सन्तोष यादवले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम र नन्दन यादव छन् । यस्तै सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शहाब आलम र शेर मल्लले पनि १५ सदस्यीय टोलीमा स्थान बनाएका छन् । प्रतिश जीसी, नारायण जोशी र राशिद खानलाई रिजर्भमा राखिएको छ ।

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को सिरिजअघि यूएईसँग टी–२० सिरिज खेल्न लागेको हो । नेपाल र यूएईबीच वैशाख ६ र ७ गते दुई खेल हुँदै छ । दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेपछि हुनेछन् ।

त्यसपछि नेपालले लिग–२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज आयोजना गर्दै छ । नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो ।