काठमाडौं,१७ कार्तिक ।
बंगलादेशमा भइरहेको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सानदार जित निकोलेको छ ।
बिहीबार ढाकामा भएको खेलमा नेपालले भुटानलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
दश खेलाडीमा सिमित भएको भुटान विरुद्ध नेपाललाई फराकिलो जित दिलाउन वर्षा ओलीले ४ गोल गरिन् । शुक्रिया मियाँले २ तथा सेनु परियारले १ गोल गरिन् ।
नेपालले भुटानविरुद्ध पहिलो हाफमा ४ तथा दोस्रो हाफमा ३ गोल गरेको थियो ।
वर्षाले खेलको पहिलो मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
१७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी वर्षाले ३४ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने नेपाललाई ३–० को अग्रता दिलाइन् ।
लगत्तै अर्को मिनेटमा वर्षाले चौथो गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो । शुक्रियाले ६५ औं र ७२औं मिनेटमा गोल गरिन् ।
यस्तै सेनुले ८५ औं मिनेटमा गोल गरिन् । खेलको ६७ औं मिनेटमा भुटानी गोलकिपर दिक्षिता राईले रातो कार्डको सामना गरेपछि भुटान दश खेलाडीमा सिमित भएको थियो ।
नेपालले जितबाट च्याम्पियनसिप सुरु गर्दै ३ अंक जोडेको छ । भुटानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा भुटान बंगलादेशसँग ८–० ले पराजित भएको थियो ।
३ टिम सहभागी प्रतियोगिता डबल राउण्ड रोविनका आधारमा हुनेछ र अन्तिममा शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ ।
नेपालले दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ ।
नेपालकी मुख्य प्रशिक्षक भगवती राना मगरले भुटान विरुद्ध फरवार्डले राम्रो खेलेको बताउँदै मिडफिल्डमा सुधार गर्नुपर्ने बताइन् ।
पहिलो खेलबाट राम्रो अनुभव मिलेको भन्दै उनले अर्को खेल जित्नका लागि तयारी गरिने बताइन् ।








