काठमाडौँ,१७ कार्तिक ।
प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा पुलिसले बिहीबार लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ । टीयू मैदानमा भएको समूह ‘बी’को खेलमा दीपेन्द्रसिंह ऐरी ब्याट र बल दुवैबाट चम्केपछि पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हरायो ।
दीपेन्द्र निर्विवाद ‘प्लेयर अफ द म्याच’ पनि भए । उनले ससुरुमा ५५ रन खर्चेर चार विकेट लिए । पछि नटआउट रहेर ४३ रन पनि बनाए ।
लुम्बिनीले पहिले ब्याटिङ गर्दै ४४.२ ओभरमा अलआउट भएर १ सय ८८ रन बनाएको थियो । त्यसमा कप्तान देव खनालको ७४ रनको योगदान रह्यो । त्यस्तै प्रज्ज्वल थापाले २३ तथा विशालविक्रम केसीले ३० रन बनाए ।
जवाफमा पुलिसले ३७.१ ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रन बनायो । पुलिसका लागि माथिल्लो क्रमका सबै ब्याटरले योगदान दिए । सुनिल धमलाले ३६, कुशल भुर्तेलले ३२, अमित श्रेष्ठले २८ तथा आरिफ सेखले ३५ रन बनाए । पुलिसको ३ जितपछि ६ अंक भएको छ र समूहको शीर्ष स्थानमा छ ।
आजै मूलपानी मैदानमा भएको खेलमा मधेस प्रदेशले प्रदेश १ लाई ७२ रनले हरायो । मधेसले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको प्रदेश १ एक सय ४२ रन बनाउँदा अलआउट भयो । उसका लागि लभ कामतले २९, विवेक आनन्द मेहेताले २५ र फिरदोस अन्सारीले २२ रन बनाए । बलिङतर्फ मधेसका मोहम्मद आदिल आलम, रूपेश सिंह, प्रदीप पासवान र विशाल शुस्लिङले दुई/दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मधेसका लागि अनिल साहले ६१, विवेक यादवले ३२ र रोहन विकले २८ रन बनाए । बलिङतर्फ प्रदेश १ का लागि फिर्दाेश अन्सारीले पाँच विकेट लिए ।
समूह ‘बी’ मा मधेस दोस्रो र प्रदेश १ चौथो स्थानमा छन् ।
गएकाे आइतवारदेखि सुरु भएको प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरीएको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश १ रहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले पाँच लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन् ।







