काठमाडौं,५ बैशाख ।
पश्चिम तराईमा अझै केही दिन वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तराई–मधेसमा तत्काल वर्षाको सम्भावना नभएकोले गर्मी बढ्ने जलवायुविज्ञ धर्मराज उप्रेतीले बताएका छन् ।
“तराई–मधेस र त्यसमा पनि पश्चिम तराईमा वर्षाको सम्भावना अझै चार दिनसम्म देखिँदैन भने गर्मी बढ्ने देखिन्छ,” उनले शनिबार (वैशाख ५) दिउँसो सामाजिक सञ्जालमा लेखेका छन् ।
पूर्वी पहाडका केही ठाउँमा वर्षा र बादलले शीतल महसुस हुने सम्भावना छ । काठमाडौंमा पनि एक–दुई दिन बादल र हल्का वर्षाको सम्भावनाले धेरै गर्मी नहुने उनले उल्लेख गरेका छन् । “अर्थात्,असजिलो गर्मी (काठमाडौंमा) केही दिन हुँदैन होला,” उनले भनेका छन्, “व्यक्तिअनुसार गर्मी सहने क्षमता फरक–फरक हुन्छ ।”
उनका अनुसार,भारतका धेरै ठाउँमा हाल अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । “उत्तर प्रदेशको एक–दुई ठाउँमा लगातार दुई–तीन दिनदेखि ४४ डिग्री वरिपरि मापन गरिएको छ । लूको घोषणा गरिएको छ,” उनले लेखेका छन् ।
नेपालमा तत्काल लूको अवस्था नरहेको तर, तराई भूभागमा अधिकतम तापक्रम ३५–३७ डिग्री हाराहारी रहने उनलेे बताए ।
जल तथा मौसम विज्ञान विभागले पनि तराई क्षेत्रमा ‘तातो दिन’ र केही पहाडी भूभागमा वर्षाको पूर्वानुमान गरेको छ । शनिबार काठमाडौंसहितका थोरै स्थानमा ‘हल्का’देखि ‘मध्यम’ पानी परेको विभागले जनाएको छ ।








