बुटवल,६ बैशाख ।
बुटवल उपमहानगरपालिका वडा नं ४ भुवनेश्वरी मार्ग स्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा भाेली बैशाख ७ गतेदेखि श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

श्री भुवनेश्वरी भगवती मन्दिर सेवा समितिले आज मन्दिर परिसरमै पत्रकार सम्मेलन गरि महायज्ञकाे तयारी बारे जानकारी गराएको हो ।

धेरैजसो महायज्ञ कुनै संस्थाकाे आर्थिक संकलनका लागि महायज्ञ गर्ने प्रचलन रहे पनि श्री भुवनेश्वरी भगवती मन्दिरमा सञ्चालन हुने महायज्ञ विशुद्ध ज्ञान आर्जनका लागि भएको मन्दिर सेवा समितिले जनाएको छ ।

श्री भुवनेश्वरी भगवती मन्दिर सेवा समितिका अध्यक्ष जीवन प्रसाद वझाले अर्थ संकलनका लागि नभएर ज्ञान आर्जनका लागि महायज्ञ आयोजना गरिएको भन्दै महायज्ञमा सहभागी भएर ज्ञान आर्जन गर्न धर्मानुरागिहरूलाई आग्रह गरे ।

अक्षय तृतीयाकाे दिनदेखि सुरु हुने श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा हरिहर सन्यास आश्रय देवघाट धामका पीठाधीश,नेपाल सन्तसमाजका अध्यक्ष सन्त शिराेमणीश्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीमहाराज बाट प्रवचन हुने अध्यक्ष वझाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा मन्दिरका निवर्तमान अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ,
उपाध्यक्ष अरूण श्रेष्ठ,सचिव रविन्द्रनाथ पंगेनीलगायतले २०६२ सालमा नेपाली वास्तुकलामा निर्मित मन्दिर पश्चिम नेपालकै ऐतिहासिक महत्वकाे रहेको भन्दै मन्दिरको प्रचारप्रसार जरुरी रहेकोमा जाेड दिए ।

महायज्ञकाे कार्यक्रम अन्तर्गत बैशाख ७ गते साेमबार बिहान ७ बजे कलश यात्रा,दैनिक पाठपारायण बिहान ७ बजेदेखि ११ बजेसम्म,दैनिक भजन किर्तन बिहान ११.१५ देखि १२ बजे मध्याह्नसम्म,प्रत्येक दिनको १ बजेदेखि ४ बजेसम्म कथा प्रवचन,प्रत्येक दिन दिउँसो ४ बजे आरति तथा प्रसाद वितरण र साँझ ५ बजेदेखि ६ बजेसम्म नित्य भजन कीर्तन हुने जनाइएको छ ।