कपिलवस्तु,१७ कार्तिक ।
स्रोत नखुलेको भारतीय रकमसहित कपिलवस्तुमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची सन्धीखर्क नगरपालिका –१ मिडियाचोक बस्ने ३९ वर्षका मुक्ति खनाल रहेका छन् ।
उनको साथबाट ५ लाख ५२ हजार ८ सय रूपैयाँ स्रोत नखुलेको भारतीय रकम रहेको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।
गोप्य सूचनाको आधारमा तौलिहवाबाट मर्यादापुर जाँदै गरेको लु १६ प ४११७ नम्बर मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा खनाललाई यशोधरा गाउँपालिका –७ मर्यादापुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । खनाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरी नायव उपरीक्षक घलेले बताए ।






