बुटवल,१५ कार्तिक ।
रुपन्देहीको लुम्बिनीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपुर चिलुवाताल मोहरीपुर भगवानपुरका २८ वर्षीय सुनीलकुमार सहानी र सोही ठाउँको सहजनवा घगसरा बस्ने २६ वर्षीय शशीकान्त भट्ट रहेका छन् ।
गत २३ असोज साँझ चार बजेतिर लुम्बिनीको महिलवार भित्री सडकमा हतियार देखाइ रेमिटयान्सका कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका उनिहरुलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल र हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
मोग्लहास्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेसनमा काम गर्दै आएका कर्मचारीलाई पिछा गर्दै हतियार देखाई उनीहरूले लुटपाट गरेका थिए । भारतीय नम्बर नखुलेको मोटरसाइकलबाट पिछा गर्दै लुटपाट गरेका उनलाई रुपन्देही प्रहरीले मर्चवारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
भारतमा पनि ‘वान्टेड’ सूचीमा रहेका लुटपाटमा सम्लग्न दुवै जनाको साथबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल र हतियार बरामद गरेको छ । भाईटीकाको दिन साँझ ६ बजे कोटहिमाई गाउँपालिका–१ सिपवास्थित इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूले प्रहरीसँग पनि प्रतिकार गर्न खोज्दा प्रहरी निरीक्षक युवराजजंग कार्कीको हातको औँला फ्याक्चर भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूको साथबाट सुन्मिका इण्डस्ट्रियल लेखेको सेमी अटोमेटिक पेस्तोल एक थान, म्याग्जिन एक थान, ५ थान गोली, कटुवा पेस्तोल एक थान, युपी ५८ भी १८१४ नम्बरको भारतीय नम्बरको मोटरसाइकल, मोबाइल एक थान बरामद भएको एसपी रेग्मीले बताए ।






