बुटवल,४ कार्तिक । रेडियो जागरणका समाचार प्रमुख पत्रकार टेक मास्की रानाको उपचारार्थ राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले आर्थिक सहयोग प्रदान गरेको छ ।
शुक्रबार पार्टीले अस्पतालमै पुगी ८ हजार ६ सय रुपैयाँ सहयोग रकम प्रदान गरेको हो । पार्टी जिल्ला अध्यक्ष प्रेम बहादुर थापाले उक्त रकम पत्रकार मास्कीका बहिनी निर्मला रानालाई हस्तान्तरण गरेका हुन् ।
पत्रकार मास्कीकाे विगत १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ । पत्रकार मास्कीलाई डेङ्गीको लक्षण देखिएलगत्तै पाल्पाको मिशन अस्पतालमा लगी भर्ना गरिएको थियो तर रगतमा प्लेटिलेट्सको कमी देखिएपछि ३ दिनपछि उहाँलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ट्रान्सफर गरिएको थियो । मास्कीलाई डेङ्गी लगायत उच्च रक्तचाप, सुगर, जन्डिस, कलेजो र मृगौलामा समेत समस्या देखिएको उजकी बहिनी निर्मला रानाले जानकारी दिइन् । चिकित्सकका अनुसार पत्रकार मास्कीको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको छ ।
पत्रकार टेक मास्की राना नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) रुपन्देहीका पूर्व सचिव पनि हुन् ।






