बुटवल,३ कार्तिक ।
रुपन्देही व्यापार संघले बैंको चर्को व्याजदर बृद्धि विरुद्व राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र बुझाएको छ ।
संघले पहिलो चरणको आन्दोलन अन्तर्गत विहिबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा मार्फत नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापन पत्र बुझाएको हो ।
संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेसहितको संघको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रञ्जना पौडेललाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
ज्ञापन पत्र हस्तान्तरण गर्दै संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले राष्ट्र बैंकको गलत नीतिका कारण बैंकहरुले व्याज दर बढाएर व्यापार व्यवसाय चलाउनै नसकिने परिस्थितिको सिर्जना भएको भन्दै यथाशक्य समाधानको निम्ति आग्रह गरे ।
पछिल्लो समय नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तिय संस्थाहरुबाट विना कारण व्याज बृद्धि गर्दा व्यवसाय सञ्चालनमा गम्भिर असर परेको भन्दै उनले यसलाई नसच्याएमा व्यवसायीहरु पेशाबाट पलायन हुने अवस्था आउने बताए ।
बैंक वित्तिय संस्थाहरुबाट लिएका ऋणको व्याज अस्वभाविक रुपमा वृद्धि गरिनुका साथै त्यसमा कसैको निगरानी नहुँनु ज्यादै दुःखद पक्ष भएको स्मरण गराउदै उनले त्यसमा राष्ट्र बैंकले ध्यान दिनुपर्नेमा जोड दिए ।
ज्ञापन पत्रमा नेपाल राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र बैंकको चर्को व्याजका कारण व्यवसाय क्षेत्रमा देखिएको जटिलतालाई हटाउन र अर्थतन्त्रलाई चलायमान बनाउन तत्काल बृद्धि गरिएको व्याजदर घटाउनु बाहेक अर्को कुनै विकल्प नभएको उल्लेख छ ।
आकाशीदो व्याजदर नियन्त्रणको लागि हाल विद्यमान स्प्रेड दर १ प्रतिशतमा घटाउनु पर्ने, बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरिनु पर्ने, नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई प्रवाह गर्ने ऋण ५ प्रतिशतनै कायम गरिनु पर्ने, तरलताको सुमचित व्यस्थापन गर्नका लागि पुँजीगत खर्च समयमै गर्नु पर्ने यदी नभएको खण्डमा सरकारी खातामा रहेको रकम बैंक वित्तिय संस्थामा प्रवाहको व्यवस्था मिलाएर वजारमा पुँजी चलायमान गराउन सुझाव समेत दिइएको संघका महासचिव दयानिधि भण्डारीले जानकारी दिए ।
ज्ञापन पत्र ग्रहण गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रञ्जना पौडेलले संघले प्रस्तुत गरेको विषयवस्तुलाई सकारात्मक रुपमा आफुले लिएको बताउदै व्यवसायीहरुको मागलाई आफुले इमानदारिताकासाथ सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको संघले जनाएको छ ।






