बुटवल,२ कार्तिक ।
रुपन्देही व्यापार संघले चर्को बैंक व्याज विरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम अगाडी बढाउने निर्णय गरेको छ ।

संघले बुधवार एक प्रेस विज्ञप्ती जारी गरी नेपाल राष्ट्र बैंकले २०७९ भदौं ७ गते इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जा सम्बन्धमा मिति २०७९ कार्तिक १ गतेदेखि लागू हुने गरी जारी गरेको चालू पुजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट उत्पन्न परिस्थितीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै त्यसका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

संघले पहिलो चरणको दवावका कार्यक्रम अन्तरगत २०७९ कार्तिक ३ गते नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र बुझाउने र व्यापारिक प्रतिष्ठानहरुमा कालो पट्टी बाधेर व्यवसाय गर्ने तय गरेको छ ।

त्यसपछि राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा धर्ना दिने कार्यक्रम रहेको छ भने त्यति गर्दा पनि मागको सुनुवाई नभएमा थप एकल तथा संयुक्त आन्दोलनका कार्यक्रम तय गरिने संघले जनाएको छ ।

संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे र महासचिव दयानिधि भण्डारीले बुधवार विज्ञप्ती जारी गरी पछिल्लो समयमा नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरुबाट विना कारण पटकपटक व्याजमा भैरहेको बृद्धिले निकै मर्कामा परेका जनाएका हुन् । विज्ञप्तीमा बैंक, वित्तिय संस्थाहरुबाट लिएका ऋणको व्याज अस्वाभाविक रुपमा बृद्धि गरिएको र त्यसमा कसैको निगरानी नहुदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको उल्लेख छ ।

संघले कोरोना महामारीलगायतका विभिन्न कारणले व्यापार व्यवसायमा निकै असर परेको अवस्थामा बैंकको व्याज दर बृद्धि र त्यसमा राष्ट्र बैंकको स्वीकृतिले हतोत्साहित बनाएको जनाएको छ । बैंकहरुको उक्त कदमप्रति आपत्ति प्रकट गर्दै संघले तत्काल व्याज बृद्धिको निर्णय फिर्ता गरि वजारमा पुजी चलायमान बनाउने बाटो अवलम्बन गर्न अनुरोध गरेको छ ।

अहिलेको विषम परिस्थितीमा आर्थिक गतिविधि बृद्धि गर्न बैंक तथा वित्तीय संस्थाहरुको उच्च व्याजदरले कतै पनि सहयोगिको भूमिका नखेल्ने हुदा त्यसमा गम्भिर बन्न आग्रह गर्दै संघले मागको सुनुवाई तथा चर्को बैंक व्याजदर फिर्ता गराउन दवाव दिने उद्देश्यले चरणबद्ध दवावका कार्यक्रमहरु तय गरेको जनाएको छ ।