बुटवल,२८ असोज ।
बुटवल उपमहानगरपालिकाले ई–रिक्सा तथा अटो ब्यवस्थापन नगर्दै कर मात्रै असुल्न थालेको भन्दै अटोटेम्पो तथा चालक संघ आन्दोलनमा उत्रिएका छन् ।
ई–रिक्सा ब्यवस्थापनको लागि उपमहानगरलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएकोले आन्दोलनका उत्रिनुपरेको उनिहरुको गुनाशो छ ।
बुटवलमा नेपाल अटोटेम्पु तथा ई–रिक्सा चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन , हरियाली यातायात प्रालीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै बुटवल उपमहानगरले विद्युतीय रिक्सा ब्यवस्थापनमा चासो नदिएकाले आफुहरु आन्दोलनमा उत्रिनुपरेको बताएका हुन् ।
नेपाल अटोटेम्पु तथा ई–रिक्सा चालक संघका अध्यक्ष उदय परियारले असोज २५ गतेबाट आफुहरुको आन्दोलन सुरु भएको जानकारी दिए ।
आन्दोलका कार्यक्रममा उपमहानगरलाई कर नर्तिने, कार्तिक १ गतेदेखि ईरिक्सामा कालोझण्डा राखेर सांकेतिक विरोध जनाउने उनले बताए ।
बुटवल उपमहानगरले २०७६ सालदेखिको नै कर असुल्नको लागि सुचना जारी गरेकोे बताउँदै उनले ईरिक्साको ब्यवस्थापन भएपछि बल्ल करको दायरामा आउने बताए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रमुख सल्लाहाकार ध्यान बहादुर राईले उपमहानगरपालिकाले १४ सय ४० रिक्सा सञ्चालनको लागि अनुमती दिनु पर्ने गरि ब्यवस्थापन गरेपछि बल्ल करको दायरामा आउने बताए ।
अझैं १ सय ८४ ई रिक्सालाई ब्यवस्थापन गर्ने बाँकी रहेको भन्दै उनले रिक्साको ब्यवस्थापन नगर्दै उपमहानगरपालिकाले कर असुल्न थालेको गुनाशो गरे। ईरिक्सा ब्यवसायीहरु दोहोरो करको मारमा परेको बताउँदै राईले उपमहानगरले ब्यवस्थापन नगर्दै २०७६ सालदेखिबाट नै कर लगाउँदा मजदुर मारमा परेको बताए । पहिले ई रिक्सा ब्यवस्थापन सकिएपछि बल्ल कर लागु गर्न उनले आग्रह गरे ।
बुटवल उपमहानगरपालिकाले प्राविधिक चेक जाँचपास भएका ईरिक्सा तथा टेम्पुहरुलाई ३ वर्षको कर कार्तिक मसान्तसम्म बुझाउँन सुचना जारी गरेको छ । उपमहानगरले नविकरण शुल्क ३००, रुट परमिट ३०० र वार्षिक सवारी कर १५ सय तोेकेको छ ।






