प्युठान,२१ असाेज । पहिरोले घर बगाउँदा प्युठानमा ६ जना बेपत्ता भएका छन् ।
जिल्लाकाे माण्डवी गाउँपालिका ४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट आएको पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएकाे वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिए ।
पहिरोमा बमबहादुरसहित उनकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएको वडाध्यक्ष घर्ती मगरले बताए ।
वडाध्यक्ष घर्ती मगरका अनुसार पहिराे गएकाे ठाउँ नजिकै रहेका तीन वटा घरका परिवारलाई अन्यत्र सारिएको छ ।
पहिरो आउन थालेपछि घरका सामान ओसार्ने क्रममा बमबहादुरका परिवारलाई पहिरोले पुरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।
पहिरोले सडक बन्द भएको र खोला बढेका कारण ६ घण्टासम्म पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विपद् प्रतिकार्यको उद्धार टोली घटनास्थलसम्म पुग्न नसकेको प्रजिअ नेपालले बताइन् ।
उद्धार टाेली आज घटनास्थलमा पुग्न सक्ने सम्भावना कम रहेको प्रमुख जिल्ला अधिकारी नेपालकाे भनाइ छ ।









