बुटवल,१३ असोज ।
मासु व्यवसायी रुपन्देहीले शुभ विजयादशमी, दिपावली र छठको पावन अवसरमा शुभकामना आदान प्रदान तथा व्यावसायीक सचेतना कार्यक्रम विहिवार बुटवलमा सम्पन्न गरेको छ ।
त्यस अवसरमा कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले मासु व्यवसायीले उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वच्छ मासु विक्री गर्न आग्रह गरिन् । केही दिन अघि बुटवलमा गरेको अनुगमनमा एउटै फ्रिजभित्र सद्धे मासुसँगै कुहेको मासु समेत राखेको पाइएकोले त्यस्तो नगर्न सुझाव दिइन् । व्यवसाय संचालन गर्दा गुणस्तरमा ध्यान दिन उपप्रमुख अर्यालको आग्रह छ ।
कार्यक्रममा मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष चुरामणी घिमिरेले बेला बेलामा हुने अनुगमनले व्यवसायीलाई गुणस्तर सुधारमा सहयोग पुग्ने बताउँदै मासु व्यवसायी समय अनुसार परिवर्तन हुँदै जानुपर्ने बताए ।
उनले अनुगमनले पेशालाई सुदृढ वनाएर जान भूमिका खेल्ने बताउँदै व्यवसायीहरु हतोत्साही नभएर आफ्नो पेशा व्यवसायमा लाग्न नेपालीहरुका चाडपर्वले बल प्रदान गर्ने उल्लेख गरे ।
शुभकामना तथा सचेतना कार्यक्रममा शुभकामना व्यक्त गर्दै संघका प्रेस सल्लाहकार नबिन घिमिरेले नेपालीहरुको चाडपर्व दशैं र तिहारको समयमा मासुको खपत बढी हुने भएकोले यो समयमा उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यवसाय गर्न आग्रह गरे । उनले ताजा र स्वच्छ मासुले स्वास्थ्यमा पार्ने राम्रो प्रभाव र नराम्रो मासुले निम्त्याउने हानीका विषयमा उपभोक्तामाझ सचेतना जगाउनु पर्नेमा जोड दिदै आगामी दिनमा पनि उपभोक्ताको स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मासु व्यवसायी संघका कानुनी सल्लाहकार यमलाल खनाल, संघका पूर्व अध्यक्ष मोहनकुमार शाही, संघका बरिष्ठ सल्लाहकार कुलध्वज लामा, हेफरका बरिष्ठ कार्यक्रम प्रवन्धक प्रेम स्याम्बु र संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद पोडेल,उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी र बुटवल उपमहानगरपालिकाका पशुपंक्षी शाखा प्रमुख झविन्द्र बञ्जाडेले पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर स्वच्छ र ताजा मासु विक्री वितरणको व्यवस्था मिलाउन अनुरोध गरेका थिए ।






