बुटवल,१३ असोज ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले कालिगण्डकी तिनाउ डाईर्भसन आयोजना अगाडी नबढेकोमा चिन्ता ब्यक्त गरेका छन् ।

कालिगण्डकी तिनाउ डाईर्भसन आयोजना लुम्बिनी प्रदेशको मात्रै नभएर देशकै महत्वपूर्ण आयोजना भएको भन्दै प्रदेश प्रमुख शेरचनले आयोजना अगाडी बढाउन सरकारले चासो नदेखाएको गुनासो गरे ।

प्रदेश योजना आयोगले बिहिबार प्रदेश प्रमुख समक्ष पेश गरेको बार्षिक प्रतिवेदन बुझ्दै उनले बहुउपयोगि आयोजना अगाडी बढाउन हिच्कीचाउन नहुने धारणा राखे ।

शेरचनले कालिगण्डकी तिनाउ ड्राईर्भसन आयोजना कार्यान्वयनको लागि गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई मौखिक रुपमा ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको गुनाशो पोखे ।

कालिगण्डकीको पानी बगेर भारत तर्फ गएको अवस्थामा डाईर्भसन गरेर तिनाउनमा ल्याउन सके तराईमा सिचाईबाट कृषि उत्पादनमा बृद्धि भई खाद्यान्नमा आत्मनिर्भर बन्न सक्ने विश्वास ब्यक्त गरे । आयोजना कार्यान्वयनको लागि लुम्बिनी प्रदेश र गण्डकी प्रदेश सरकारकार बिचमा बार्ता समेत बस्न समेत नसक्नु दुखद भएको शेरचनको भनाई थियो ।

एक कार्यक्रममा सर्जकले समृद्धि र खुसी नेपालीको नाराबारे कविता मार्फत प्रस्तुत गरेको अभिब्यक्तिको उदाहरण दिदै प्रदेश प्रमुख शेरचनले भएका उद्योग बन्द गर्ने र नयाँ उद्योग पनि सञ्चालन नगरी कसरी मुलुक समृद्ध हुन्छ भनि प्रश्न गरे ।

बुटवल धागो कारखाना र सुनवलको चिनि मिल प्रति लक्षीत गर्दै उनले मित्र राष्ट्रले बनाइदिएका उद्योग सञ्चालन गर्न नसक्ने र नयाँ उद्योग पनि सञ्चालन नगरी मुलुक समृद्ध बन्न नसक्ने बताए ।

संघीयता कार्यान्वयनमा गएको पाँच बर्षमा पनि बन्द उद्योग सञ्चालन गर्ने प्रकृया सुरु नहुनु दुखद भएको उल्लेख गरे ।

प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेवि क्षेत्रीले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन हस्तानान्तरण गर्दै एमटिएफ, बित्तिय समानीकरण र परियोजना बैंकलाई योजना आयोगले कार्यान्वयनमा ल्याएको जानकारी गराए ।