बुटवल,१२ असोज ।
बुटवल उपमहानगरपालिकामा केही ठूला योजनाहरु सञ्चालनका लागि प्रक्रिया अघि बढेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्तरोन्नति, कृषि बजार केन्द्र स्थापना, सूचना केन्द्र निर्माण, प्रदेशस्तरको बसपार्कजस्ता योजनाहरु प्रक्रियामा अघि बढेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाद्धारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवललाई आर्थिक, स्वास्थ्य र शिक्षाका हिसाबले अग्रणी बनाउने गरी केही योजनाहरु अघि बढेको र ती योजनाले छिटै मुर्त रुप लिने बताएका हुन् ।

‘हामीले बुटवलका मुख्य समस्या समाधान गर्दै केही ठूला योजनाहरु अघि बढाएका छौं, उनले भने–ती योजनाहरुमा बुटवल उपमहानगर, संघ, प्रदेश र अन्य केही दातृनिकायहरुको लगानी हुनेछ, त्यसका लागि हामीले केही योजनाको सम्झौता गरेर अरु प्रक्रिया अघि बढाएका छौं भने केही सम्झौता गर्ने र केही जग्गा प्राप्तिको प्रक्रियामा रहेका छन् ।’

उनले आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने, नयाँ बसपार्कलाई स्थानान्तरण गरी बहुतले पार्किङस्थल निर्माण गर्ने, बुटवल ७ र ८ को धागो कारखाना अगाडिको २५ बिगाहामा बसपार्क निर्माण गर्ने, छाडा चौपाया व्यवस्थापनका लागि गौशाला सञ्चालन गर्ने जस्ता कामले बुटवललाई व्यवस्थित शहरको रुपमा स्थापित गर्ने बताए ।

शिक्षाका क्षेत्रमा आम्दा अस्पतालमा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई)मा सिभिल इन्जिनियरिङतर्फ स्नातक, अटो भिलेजमा स्नातक तहको अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको उनको भनाई छ ।

नगरप्रमुख पाण्डेयले बुटवल १५ सेमलारमा १९ बिगाहामा कृषि बजार केन्द्र, बुटवल ७ मा गौशाला व्यवस्थापन, वडा नं. १३ र १७ मा १६÷१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापनाका लागि प्रक्रिया अघि बढेको समेत जानकारी गराए ।

पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै उनले बुटवलको मुख्य सडक निर्माणमा भएको अलमल समाधान गरी सडक निर्माणलाई निरन्तरता दिन अगुवाई गरेको, मोतीपुर औद्योगिक क्षेत्रको विवाद समाधान गर्नका लागि जग्गा यकिन गरी औद्योगिक क्षेत्र निर्माणका लागि अगुवाई गरेको बताए ।

उनले बुटवललाई सफा र सुन्दर बनाउन सरसफाई अभियान सञ्चालन गरेको र डेंगु नियन्त्रणका लागि निरन्तर अभियान सञ्चालन गरेको बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको बजारलाई व्यवस्थित गर्नका लागि नियमित अनुगमन गरिरहेको र आगामी दिनमा थप कडाइका साथ नियम पालना गराइने जानकारी गराइन् ।

उनले उपभोक्ताको अधिकार स्थापित गर्दै स्वच्छ र स्वस्थ खाद्यान्न उपलब्ध हुने गरी वातावरण तयार गर्नका लागि बुटवल उपमहानगर लागिपरेको बताइन् । आफु नेतृत्वको न्यायिक समितिले विवादमा मेलमिलाप र सहजीकरण गर्दै आएको समेत उनले बताइन् ।