बुटवल,१२ असोज ।
देशका सबैभन्दा बढि उजुरी पर्ने १० पालिकामध्ये रुपन्देहीको मर्चवारी गाउँपालिका पनि परेको छ ।
बुटवल स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कार्यालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
जसमा सबैभन्दा बढि शिक्षक नियुक्ति,विद्यार्थी खाजा र उपभोक्ता समिति बिरुद्धका रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यक्षेत्र भित्र पर्ने लुम्बिनी प्रदेशका १० जिल्लामा गत आर्थिक बर्ष २०७८÷०७९ मा कूल एक हजार दुई सय ६६ मुद्धा दायर भएकोमा एक हजार ७० मुद्धा फछ्र्यौट भएको र १९६ मुद्धा फछ्र्यौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै स्थानीय तह (संघीय मामिला) अन्तर्गतका ५२९ मुद्धा,स्थानीय तहकै शिक्षासँग सम्बन्धित २६६, भूमि ब्यवस्था सम्बन्धी ८९,प्रदेश वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित ६०,संस्कृति पर्यटनसँग सम्बन्धित ५७ र अन्य २६५ गरी एक हजार दुई सय ६६ मुदा दर्ता भएको छ ।
आर्थिक बर्ष २०७८÷०७९ मा आयोगको बुटवल कार्यालयलाई एक सय १३ थान मुद्धाको बिस्तृत अनुसन्धान गर्ने जिम्मेवारी तोकिएकोमा ५५ थान मुद्धाको बिस्तृत अनुसन्धान गरि आयोगमा प्रतिवेदन बुझाएको र ५८ थान मुद्धा अनुसन्धानकै क्रममा रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।






