गोरखा, १० असोज ।
गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ करिव १५ जना घाइते भएका छन् ।

बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा हिमाल आरोहणका लागि गएका अनुप राईको मृत्यु भएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
चौथो बेसक्याम्पमा खसेको पहिरो तेस्रो बेसक्याम्पसम्म आइपुगेको र उनिहरु सोही पहिरोमा परेको उनले बताए ।
मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिदै उनले उद्धारमा समस्या भएको बताए ।

घटनाबारे खबर आउनासाथ उद्धारका लागि पहल गरिरहेको बताउदै पमुख जिल्ला अधिकारी आचार्यले सामागाउँबाट कैलाश एयरको हेलिकप्टर बेसक्याम्पका लागि उडेपनि मौसम प्रतिकुल भएका कारण बेसक्याम्पमा ल्याण्ड गर्न नसकेको बताए ।

प्रहरी पनि आधार शिविरमा पुग्न सम्भव नभएकाले घटनाबारे यकिन विवरण पाउन मुश्किल भएको उनको भनाइ छ ।

पर्यटन विभागकी शाखा अधिकृत यशोदा अर्यालसँग आफूहरुले जानकारी लिइरहेको बताउदै प्रजिअ आचार्यले मनाङको भीमथाङमा पनि एक जना बिदेशी नागरिक हराएको खबर आएको जानकारी दिए ।