बुटवल,१ असोज ।
भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक अन्तराष्ट्रिय उडान सुरु भएको छ । साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा–कुवेत दैनिक उडान सुरु गरेको हो ।

यात्रुहरुको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भए पछि नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले बताए ।

यो विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान जजिराले जेठ२ बाट गर्दै आएको छ । कुवेतबाट जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले १७४ यात्रु लिएर अवतरण गरेको थियो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि जजिरा एयरले मात्रै व्यवसायिक उडान नियमित रुपमा गर्देै आएको छ । जजिराको एयर बस ३२० नीओ विमानले हाल सम्म कुबेत–भैरहवाबीच १ सय १० वटा उडान गरेको छ । जसबाट कुल ६ हजार ५ सय ८७ यात्रु आएका छन् भने कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन् ।

आउँदो कात्तिक १३ गतेदेखि विज एयरले पनि भैरहवाबाट यूएईको अबुधावीमा हवाई उडान संचालन गर्ने भएको छ ।
हंगेरीको वायुसेवा कम्पनी विज एयरले तत्कालका लागि हप्तामा तीन वटा हवाई उडान सञ्चालन गर्नेगरी टिकट काट्ने अनुमति पाइसकेको छ ।

नेपालकै दोस्रो अन्तराष्ट्रिय विमानस्थल भएकोले र अन्तराष्ट्रिय क्षेत्रमा नयाँ विमानस्थलको रुपमा रहेको विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डययन प्राधिकरणले विभिन्न छुट दिँदै आएको छ । नारायणी वारीका यात्रुहरु काठमाण्डौ पुग्नु नपर्नेगरी जजिराले कुवेतको हवाइ यात्रा भैरहवाबाट सुरुवात गरेको हो । विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रु चाप घट्ने र काठमाण्डौंको विकल्पको रुपमा बनेको विमानस्थलमा काठमाण्डौंमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्छन । काठमाण्डौकोभन्दा बढि अत्याधुनिक उपकरण जडित गौतमबुद्ध बिमानस्थल अबको ५ वर्षमा फूलफेजमा सञ्चालनमा आउने प्राधिकरणको अपेक्षा छ ।