बुटवल,३१ भदौ ।
लुम्बिनी प्रदेश सहित देशका पश्चिमी भेगका केही ठाउँमा आज अति ठूलो वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज लुम्बिनी,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
यी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । उनका अनुसार अहिले लुम्बिनी प्रदेश सहित वाग्मती, गण्डकी, कर्णाली र मधेस प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । गएराति लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो ।
मौसमविद्का अनुसार आज देशभर नै पानी पर्ने सम्भावना छ । भोलि पनि धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यस्तै, नदी तथा खोला नालामा पनि आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।









