बुटवल,३० भदौ ।
बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तरगत बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक पक्की गर्ने कार्य बर्षाका कारण रोकिएको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण व्यवसायी कम्पनी कञ्चनजंघा विरुवा जेभीले बुटवल उपमहानगरपालिकालाई पत्र लेखि सडक निर्माणको काम निरन्तर जारी रहेको अवस्थामा बर्षाका कारण काम रोकिएको बताएको हो ।

‘हामी निर्माणको काम छाडेर कतै गएका छैनौं’–निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभीका सञ्चालक पेम्बा लामाले भने–‘हामीले अहिले निरन्तर काम गरिरहेका छौं, यहाँको उपमहानगरपालिका, सडक डिभिजन कार्यालय, टेलिकम, खानेपानी, विद्युत कार्यालयसँग समन्वय गरेर काम भइरहेको छ ।’
पानी पर्न रोकएलगत्तै काम सुरु हुने कम्पनीले नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ ।