बुटवल,३० भदौ । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ ।

भारतको गोण्डा र सिद्धार्थनगरमा रहेकाे बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनमा रहेकाे हेल्प क्रस संस्थाको समन्वयमा हिजाे उद्धार गरी नेपाल ल्याइएको नेपालगञ्जमा रहेकाे शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुर स्थिति रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो ।

उद्धार गरिएकाहरू नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालकमध्ये प्रायजसाे १२ वर्षमुनिका रहेका छन् । बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानुनी प्रक्रिया मिलाएर उनीहरुलाई अभिभावकसँग पुनर्मिलन गराउने जिम्माका साथ नेपाल ल्याइएको संयोजक भट्टराईको भनाइ छ ।

उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्युरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने बताइएको छ । अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरुलाई भारत पुर्याउने व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।