बुटवल,२७ भदौ ।
बुटवल उपमहानगरपालिका वडा नं ८ ले राजश्व अभिबृद्धि तथा स्रोत परिचालन कार्यलाई थप प्रभावकारी रुपमा अगाडी बढाउने अभियान सञ्चालन गरेको छ ।

बजार ब्यवस्थापनलाई चुस्त दुरुस्त बनाउदै नगरपालिकाको आयस्रोत बृद्धि गर्ने उदेश्यले वडा कार्यालयले आज राजश्व अभिबृद्धि तथा स्रोत परिचालन सहजकर्ताहरुलाई अभिमुखीकरण गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष यज्ञ प्रसाद पंगेनीको सभापतित्वमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष यज्ञ पंगेनीले नगरको राजश्व बृद्धि भए वडासँगै नगरनै समृद्ध बन्न सक्ने भएकोले राजश्व अभिबृद्धि तथा स्रोत परिचालन कार्यलाई थप प्रभावकारी रुपमा अगाडी बढाउन आवस्यक भएको बताए ।

राजश्व अभिबृद्धि तथा स्रोत परिचालन कार्यका लागि वडा कार्यालयले नियुक्त गरेका १४ जना सहजकर्ता तथा १९ वटा टोल विकास संस्थाका पदाधिकारीहरुलाई त्यस सम्बन्धी प्रशिक्षण दिइएको वडा सचिब सुन्दरी आचार्यले जानकारी दिइन् ।

सहजकर्ताहरुले वडा भित्र सञ्चालन भएका पसल तथा बिभिन्न ब्यवसायहरु दर्ता भए÷नभएको अनुगमन गरी त्यसको बिबरण वडा कार्यालयमा पेश गर्ने र बिना दर्ता सञ्चालन भएका पसल तथा ब्यवसाय वडा अथवा नगरपालिकामा दर्ता गरेर सञ्चालन गर्न आग्रह गर्ने वडा अध्यक्ष पंगेनीले बताए ।