बुटवल,२७ भदौ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारको पहिलो गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणमा बजेटको अभाव हुन नदिन नेपाल सरकारसँग आवश्यक रकम माग गरेको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा आइतबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले प्रदेश सरकारको गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माण कार्य तिब्र रुपमा भैरहेको भन्दै त्यसमा बजेटको अभाव हुन नदिन नेपाल सरकारसँग आवश्यक रकम माग गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।

बैठकले लुम्बिनी प्रदेश राजधानीको पूर्वाधार विकासका लागि विभिन्न दातृनिकायहरु तथा अन्तरराष्ट्रिय वित्तीय संस्थाहरुसँग आवश्यक स्रोत व्यवस्थापन गरिदिन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले बैठकले प्रदेशका विपद्जन्य घटनाबाट क्षतिग्रस्त उद्योगलाई सहयोग तथा राहत प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७९ स्वीकृत गरेको बताए ।

यस्तै बैठकले ग्रामीण सडक संजाल सुधार आयोजना, कार्यान्वयन इकाई संचालनका लागि अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

यस्तै मन्त्रीपरिषद्ले रोल्पामा रहेको तिला जनयुद्ध संग्रहालय विकास समितिको सदस्यमा कृष्णकुमार नेपाली, रोल्पा, लालसरी घर्तीमगर, रोल्पा, मान बहादुर पुन, रोल्पालाई मनोनित गरेको छ भने चुन्वाङ्ग शान्ति संग्रहालय विकास समितिमा सदस्यमा टिकाबहादुर उपाध्याय, रुकुम पूर्व, ललिता बुढा, रुकुम पूर्व, टेक बहादुर बुढा, रुकुम पूर्वलाई मनोनित गरेको छ ।

बैठकले उच्च शिक्षामा मुक्त कमैया, कम्लहरी, मुस्लिम र सीमान्तकृत छात्रवृत्ति विवरण कार्यविधि, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ भने डा. विष्णु गौतम (एघारौंतह) लाई पाल्पा अस्पताल, तानसेनमा कामकाज खटाउने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।