बुटवल,२६ भदौ ।
बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र बस्नयोग्य शहर बनाउनका लागि गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुमा सडकको क्षेत्राधिकार, सडक पेटी, चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसपलगायतका सामान राखेर गरिएको अवरोध हटाउने बिषयमा उपमहानगरपालिकाले सरोकारवाहरुसँग छलफल गरेको छ ।
नगर प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा आज बसेको बैठकमा उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरु, इलाका प्रहरी कार्यालय बुटवल, ससस्त्र प्रहरी बल, ट्राफिक प्रहरी कार्यालय बुटवल, बुटवल उद्योग वाणिज्य संघ बुटवल, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघका प्रतिनिधिहरुले नगरभित्र सडकको क्षेत्राधिकार, सडक पेटी र चोक चौराहालाई सफा र सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहभागिहरुबाट व्यक्त रायअनुसार वडास्तरबाट यसको शुरुवात गर्ने र बढी अव्यवस्थित भएका क्षेत्रहरुमा माइकिङ, अनुगमन र थप जानकारी गराउने निर्णय भएको छ ।
यसरी जानकारी गराउँदा पनि सडकको क्षेत्राधिकार, सडकपेटी र चोक चौराहामा रहेका ठेला, टंकी र व्यापार नहटेमा कारबाही अघि बढाउने निर्णय बैठकले गरेको छ ।
बैठकमा नगरप्रमुख पाण्डेयले बुटवललाई सफा, सुन्दर शहरका रुपमा स्थापित गर्नका लागि सबैको साथ सहयोग जरुरी रहेकाले सडकको क्षेत्राधिकार, सडकपेटी र चोक चौराहामा रहेका ठेला, टंकी र व्यापार हटाउन आग्रह गरे ।
सबैखालका व्यापार व्यवसाय नियम कानूनअनुसार सञ्चालन हुनुपर्ने र सडक, सडक पेटी, चोक चौराहामा व्यापार व्यवसाय गर्दा दुर्घटनाको जोखिम बढेको, शहर फोहोर र अव्यवस्थित भएकोले व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए । उनले हाटबजार, ठेला र इरिक्साको बेथिति बढ्दै गएको र यी सबैलाई कानूनअनुसार नियमन गर्ने र कानूनी दायरामा ल्याउने बताए ।
बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलभित्र बढ्दै गएको बेथिति हटाउनका लागि ठेला, इरिक्सा र हाटबजार व्यवस्थापन गर्न निरन्तर अनुगमन गर्ने बताइन् । उनले सबैलाई एकै किसिमको कानून लाग्ने र मनपरी गर्न नपाइने चेतावनी दिइन् ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई व्यवस्थित बनाउन र उत्कृष्ट बनाउनका लागि कर्मचारी संयन्त्र सक्षम रहेको बताए ।
उनले बुटवललाई सफा, सुन्दर र बस्नयोग्य शहरका रुपमा स्थापित गर्नका लागि ठेला, इरिक्सा र हाटबजार व्यवस्थित गर्ने बताए ।
बैठकमा बुटवल उद्योग वाणिज्य संघका दिनेश श्रेष्ठ, रुपन्देही उद्योग संघका जीवकान्त काफ्ले, रुपन्देही व्यापार संघका डिल्लीराज भण्डारी, उद्योग व्यापार संघका पदम जिसी, ट्राफिक प्रहरी कार्यालय बुटवलका मोहन खाँण, ससस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेलगायतले बुटवललाई व्यवस्थित शहर बनाउनका लागि नगरले लिने निर्णय कार्यान्वयन गराउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले वडास्तरबाट व्यवस्थित र सफा शहर बनाउनका लागि अभियानकै रुपमा काम थाल्ननुपर्नेमा जोड दिए ।






