बुटवल,२६ भदौ ।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा ठेकेदारले भदौ मसान्तसम्म पनि काममा ढिलासुस्ती गरे कारबाहीको लागि सिफारिस गरिने भएको छ ।
सडक निर्माण सहजीकरण समितिको आज बसेको बैठकले भदौ मसान्तसम्म तोकिएको एक लेयरर कालोपत्रे नगरेमा निर्माण कम्पन्नीलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

हस्पिटल लाईनदेखि ट्राफिकचोकसम्मको सडक भदौ मसान्तसम्म कालोपत्रे नगरे सडक विभागमा कारबाहीको लागि सिफारिस गरिने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

बैठकले विद्युत पोल गाड्ने कार्यलाई तिव्रता दिने , खानेपानीका पाईपलाईन विस्तार ब्यवस्थित गर्नको लागि प्राविधिकको सहयोग लिने , आयोजना भित्र टेलिफोन लाईन , तारको उचित ब्यवस्थापन गर्नको लागि नेपाल टेलिकमलाई ५ दिनको समय अविध उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

समितिका संयोजक समेत रहेका प्रमुख प्रशासकीय अधिकृत पन्थीको अध्यक्षतामा बसेको बैठकमा बेलहिया बुटवल गोलपार्क सडक विस्तार आयोजना कार्यालयका निमिक्त प्रमुख सविता ज्ञवाली , विद्युत कार्यालय बुटवलका प्रमुख सुरेश कुमार महतो , खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्ट, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जल कसुज, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल ,नेपाल टेलिकम बुटवलका उपप्रबन्धक नेत्रनारायण खनाल , निर्माण कम्पन्नीका ईन्जिनियर प्रविण मिश्र ,वडाध्यक्ष नरीश्वर शर्मा लगायतले आ आफ्नो धारणा राखेका थिए ।

बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक ६ वर्षदेखि बन्न नसकेपछि उपमहानगरपालिकाले निर्माण सहजिकरण समिति गठन गरेको हो । सहजिकरण समितको बैठक प्रत्येक हप्ताको आईतबार बसेर सडक निर्माण कार्य छिट्टो गर्नको लागि सम्बिन्धित कार्यालयलाई ध्यानाकर्षण गराउँदै आएको छ । ठेकेदारको ढिलासुस्तीका कारण सडक निर्माणमा ढिलाई हुँदा यात्रु तथा स्थानीयले सास्ती खेप्नु परेको छ ।