बुटवल,२६ भदौ ।
बुटवल उपमहानगरले यस क्षेत्रमा सञ्चालनमा रहेका ईरिक्साहरुको भौतिक अवस्थाको चेकजाँच शुरु गरेको छ ।
ईरिक्सा व्यवस्थापनमा बुटवल उपमहानगरले नयाँ कदम स्वरुप चेकजाँच शुरु गरेको हो ।
उपमहानगरले विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि –२०७६ अनुसार आइतबार देखी ईरिक्सा सञ्चालन गर्न योग्य वा अयोग्य छुट्टाउँदै अनुगमन शुरु गरेको हो ।
बुटवल क्षेत्रमा सञ्चालन अनुमति लिएका र दर्ता भएका १०१८ ईरिक्साको भौतिक अवस्था, चेसिस नम्बर, ईरिक्सा चालकको लाईसेन्स लगायतका कुराहरूको अनुगमन शुरु गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
ईरिक्साको भौतिक अवस्थाको बारेमा चेकजाँचको उद्धाटन गर्दै नगर उपप्रमुख साबित्रादेबी अर्यालले ईरिक्साको नवीकरण, बस्तु स्थिति, लाइसेन्स, बिमा, ब्याट्री, सञ्चालन अनुमति लगायतको चेकजाँच गरिने जानकारी दिइन् ।
उपमहानगरपालिकामा दर्ता भएका सबै ईरिक्सा चेकजाँच ५ दिनभित्र सक्नेगरि योजना रहेको उनले बताइन् ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सफा,सुग्घर,स्वच्छ र बस्नयोग्य शहर बनाउने अभियान अन्तर्गत ईरिक्साको ब्यवस्थापन गर्ने कार्य भैरहेको जानकारी दिए ।
उनले सबै ईरिक्समा लोकेसन ट्रयाकर चिप्स राखेर तत्कालको स्थान पत्ता लगाउने गरि योजना रहेको बताए ।
उनले कार्यविधिले १०१८ मात्र दर्ता गर्ने भनेपनि यसको मापदण्ड बढाएर १४४० पुर्याईएको बताउँदै यी रिक्सालाई दर्ता तथा नविकरण गर्ने र बाँकिलाई बिस्तारै व्यवस्थापन गर्ने समितिको निणर्य भएको बताए ।
ईरिक्साको अुनगमन गरि चलाउन योग्य र अयोग्य छुट्टाइएको यातायात व्यवस्था कार्यालय अन्तरगत सवारी मेकानिकल इन्जिनियर बिजय अधिकारीले जानकारी दिए ।
ईरिक्सको भौतिक अवस्था तथा चेसिस नम्बर, अन्य सामाग्री पूर्ण सुरक्षित भए नभएको हेरेर सञ्चालन योग्य र अयोग्य छुट्टाइएको बताए ।
चेकजाँचमा ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, उपमहानगरका प्रतिनिधि, उपभोक्ता समुहका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।






