बुटवल,२३ भदौ ।
भन्सार छलेर ल्याइएको ठूलो परिमाणको चिनी र चामल सहित दुई वटा ट्रक रूपन्देहीका दुई स्थानबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।
दुई वटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित २ वटा ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हेड क्वाटर रुपन्देहीले जनाएको छ ।
ट्रकसहित बरामद सामानको बजार मुल्य १ करोड ३८ हजार ५०० रुपैयाँ रहेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिए ।
उनका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिना हुलाकी मार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४१२९ नम्वरको ट्रकलाई अन्डर बिलिङ्ग भएको आशंकामा जाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको चिनी फेला परेको थियो ।
ट्रकका चालक प्युठानको माण्डवी गाउँपालिका ३ नयाँगाउँका विनोद थापालाई पक्राउ गरेर कारबाहीका लागि राजश्व कार्यालय बुटवलमा पठाइएको सिग्देलले बताए ।
त्यस्तै रुपन्देहीकै ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरस्थित हुलाकी मार्गबाट भैरहवातर्फ जाँदै गरेको ना ३ ख ६३२७ नम्वरको ट्रकबाट पनि चिनी बरामद भएको सूचना अधिकारी सिग्देलले बताए । उक्त ट्रकका चालक भने फरार भएको उनले बताए ।






